काठमाडौं, साउन २ । वर्षा सुरुभएसँगै बाढी पहिरोबाट धनजनको क्षति बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको जेठ ३१ यता हालसम्म बाढी तथा पहिरोबाट १०१ जनाको मृत्यु भएको जनाएको छ।
प्राधिकरणले शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक, कास्की तनहुँ, जाजरकोट, लमजुङ, दैलेखलगायतका जिल्लामा गरी बाढी र पहिरोका कारण १०१ जनाको मृत्यु भएको जानकारी दिएको हो। यस्तै हालसम्म ५१ जना बेपत्ता भएका छन् भने ४९ जना घाइते भएका छन्।
प्राधिकरणले आइतबार अर्थात साउन ४ गतेदेखि साउन ८ गतेसम्म देशभरका सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको पूर्वजानकारी दिएको छ। वर्षा सामान्यदेखि भारीसम्मको हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ। यस्तै पहाडी भेगमा पनि बाढी र पहिरोको समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन सचेत गराइएको छ।
साउन ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ। केही नदीले सतर्कता तह पार गर्नेछ।
ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ। केही नदी सतर्कता तह आसपास पुग्नेछ।
प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना रहेको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए।


























