चितवन । भरतपुर महानगरपालिकाले वडा नम्बर १४ को पकौडीमा रहेको उन्नत बिज वृद्धि कृषक समूहलाई ‘कम्बाइन हार्बेस्टर’ प्रदान गरेको छ। नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत धान, गहुँ काट्ने तथा झार्ने कम्बाइन हार्बेस्टर बिहीबार प्रदान गरिएको हो। आर्थिक वर्ष २०७६/०७७ को सशर्त अनुदान कार्यक्रम अन्तर्गत महानगरपालिकाले अनुदानस्वरुप २५ लाख पाँच हजार रुपैयाँ मूल्य बराबरको हार्बेस्टर प्रदान गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्। उनले सरकारी अनुदानमा प्राप्त भएको हार्बेस्टरको अधिकतम सदुपयोग गरी किसान तथा समुदायलाई सेवा प्रवाह गर्न समूहलाई आग्रह गरिन्।
उन्नत बिज वृद्धि कृषक समूहलाई विगतमा पनि महानगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि यसको निरन्तरता रहने भन्दै गुणस्तरीय बीउ उत्पादनमा विशेष ध्यान दिन आग्रह गरिन्। सहकारीले कृषकका लागि सहुलियत दरमा उपलब्ध गराउन महानगरले निर्देशन दिएको छ। महानगरले किसानको सहजताको लागि कम्बाइन्ड हार्बेस्टर प्रदान गरिएको महानगर प्रमुख दाहालले बताइन्।


























