दैलेख, साउन १ । नारायण नगरपालिका वडा नम्बर ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि आन्दोलन गरेका छन्।
केही वडामा बाडिएपनि नगरपालिकाको वडा नं ४ मा ५५५ घरधुरीलाई वितरण गर्ने भनेर लगेको २१३ बोरा चामलमध्ये केही कुहिएको परेको भन्दै स्थानीयले आन्दोलन गरेको डिलकुमारी कटुवालले जानकारी दिए।
नगरपालिका दैलेखको गोदाममा दुई महिनादेखि उक्त चामल थन्किएको थियो। जनतालाई समयमा प्रदान गर्नुपर्ने राहत वितरण नगरिनु वडा र नारायण नगरपालिकाको लापरवाही भएको हस्तबहादुर खड्काले बताए।
अध्यक्ष वीरबहादुर कटुवालले आफू वडामा नभएका बेलामा कर्मचारीले चामल वितरण गरेको जानकारी दिँदै जनताको राहतका लागि वितरण गरिएको र केही समस्या भए तत्काल सच्याउन आफूले कर्मचारीलाई निर्देशन दिएको बताए।
नगरपालिकाको टेन्डर प्रक्रियामार्फत खरिद गरी गोदाममा राखेर वडामा पठाएपछि कर्मचारीले सोही चामल वितरण गरेको अध्यक्षले बताए। वडा सचिव चक्रबहादुर कटुवालले आफूले कुहिएको चामल नदेखेको, केही स्थानीयले रिसिबीका कारण सामान्य मक्किएको एकरदुई बोरा चामल सडकमा छरेर अनावश्यक टीकाटिप्पणी गरेको बताए।
जिल्ला प्रशासन कार्यालय दैलेखबाट बुधबार गएको टोलीले परीक्षणका लागि तीन बोरा चामलको नमूना लगेको छ।


























