हेटौंडा, साउन १ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षभरी गरिने कामका विषयमा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुका बीचमा करार सम्झौतामा आज हस्ताक्षर गरिएको छ।
प्रदेशका सवै मन्त्रालयले गर्ने कामका विषयमा मुख्यमन्त्री पौडेलले आन्तरीक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलालसंग आज करार संझौता गरेकाहुन्।
आजको कार्यक्रममा जिल्ला बाहिर रहेकाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल भने उपस्थित भएनन्। करार संझौतामा मन्त्रालयहरुले गर्ने कामका विषयमा लिखित गरिएको छ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका नीति, कार्यक्रम र गर्ने कामको प्रतिवद्धताका लागि संझौता गरिएको बताए। यो करार संझौता संघीय सरकारले पहिले देखिनै गरेको भएपनि प्रदेश सरकारले पहिलो पटक गरेको वताउँदै उनले भने ‘यो संझौताले कामप्रति प्रेरित गर्न थप सहज प्रदान गर्ने छ।’ संझौताले कामको सफलता प्राप्त गर्न सहज हुने उनले बताए।


























