साउन १ । सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले ससुओलोसंग बराबरी खेल्दै अंक बाँडेको छ।
ससुओलोको घरेलु मैदानमा ६ गोल भएको रोमाञ्चक खेलमा युभेन्ट्सले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
खेलको सुरुवातमा लिएको २–० को अग्रतालाई समेत युभेन्ट्सले खेलमा जोगाउन सकेन। छैटौ मिनेटमा ड्यानिलोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए। १२ औं मिनेटमा गोन्जालो हिगुएनले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए।
तर घरेलु टोलीका फिलिप ज्यूरिकले २९ औं मिनेटमा खेल २–१ मा झारे। डोमनिको बर्दीले ५१ औं मिनेटमा खेल बराबरीमा ल्याए।
त्यसको तीन मिनेटपछि फ्रान्सेस्को कैपुटोले घरेलु टोलीलाई ३–२ को अग्रता दिलाएका थिए। युभेन्ट्सका एलेक्स सान्ड्राले ६४ औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए।
बराबरीको नतिजासंगै युभेन्ट्सले लिगमा ७ अंकको अग्रता कायम राखेको छ। युभेन्ट्स पछिल्ला तीन खेलमा जित निकाल्न असफल छ। उसले ९ गोल भने गरेको छ।
क्रिस्टियानो रोनाल्डो सिरि एमा मार्चपछि पहिलो पटक गोल गर्न असफल रहे। अबरुद्ध सिजन पुन सुरु भएपछि उनले ६ खेलमा ७ गोल गरेका थिए।
मौरिजियो सर्री नेतृत्वको युभेन्ट्स लगातार नवौं पटक सिरि एको उपाधितर्फ उन्मुख देखिएको छ। उसले दोस्रो स्थानको एटलान्टासंग ७ अंकको अग्रता कायम राखेको हो।
शीर्ष स्थानको युभेन्ट्सको ७७ अंक छ। ससुओलो ४७ अंक सहित आठौं स्थानमा यथावत छ। एजेन्सी


























