आज २०७औं भानु जयन्ती, हृदयदेखि भानुभक्तमा श्रद्धा सुमन अर्पण गर्दछु। म साहित्यको विद्यार्थी हुँ। जीवनमा धेरै सिक्न बाँकी छ। अग्रजहरुको सल्लाह र हौसलाले सिक्दै जानेछु। मान्यजनहरु मेरो यो जिज्ञासु हृदयमा एउटा समस्या आफूले सुल्झाउन नसक्ने गरी अल्झिएकाले सुल्झाइदिनु हुनेछ भन्ने विश्वासका साथ अनुरोध गरेकी छु।
मान्यवर अग्रजहरु अहिले जोडतोडका साथ छन्द बचाउ अभियान चलेको छ। मेरो बुझाइको कमी हो कि वा जे सुनें त्यो गलत हो। एक्लै छुट्याउन असमर्थ भएँ। अनि सहयोगको याचना गरेकी छु। म छन्द मन पराउँछु। छन्द उत्थानमा लाग्नेलाई सम्मान गर्थें, गर्छु र सदैव गर्नेछु। व्यक्तिगत र संस्थागत हिसाबमा मैले गरेका काम नियाल्न सक्नु हुनेछ। साहित्य सिर्जना गर्नु एउटा पाटो हो। त्यस्तै कसैको कर्मले प्राप्त गरेको सही इतिहास संरक्षण गर्नु अर्को पाटो हो। लेख्ने कला र गाउने मीठो गलाले इतिहासमा लिपिबद्ध बनिसकेका सत्यतथ्यलाई फरक प्रस्तुति दिनु कति सान्दर्भिक हुन्छ? जिज्ञासा मेटाइ दिनुहुन इतिहासविद् र छन्दमार्गीहरुमा सविनय अनुरोध गर्दछु।
मान्यवर एउटा सर्जकले हिमाल, नदी, ताल र झरनाको सुन्दरता उसको आँखा र मनले देखेको रूपमा बयान गर्न सक्छ। तर त्यसको जन्म र स्थान बदल्न पाउँछ या पाउँदैन? सगरमाथाको उचाइ अनि कोशीको लम्बाई र उद्गम स्थान बदल्न पाउँछ वा पाउँदैन? पक्कै पाउँदैन। यो निश्चित छ। त्यस्तै हामी सबैले स्कुल पढ्दा आदिकवि भानुभक्तलाई एकजना घाँसी (वसन्त पन्त)को भावी योजना (घाँस बेचेर कुवा खनाउँछु)ले छोयो र उनी साहित्य साधनामा लागे भन्ने पढ्यौँ हैन र? अनि आजसम्म पढाइरहेका छौँ। मेरो प्रश्न यहीँ छ, अहिले जल्दोबल्दो स्वरकी धनी प्रिय बहिनी सरु गुरागाईले गाउनु भएको र कविराजः नरनाथ आचार्यको २०१८ मा प्रकाशित किताबको आधारमा भनेर युटुबमा भानुभक्तले पाएको प्रेरणाको चर्चा घन्केको छ। जुन आकाश जमिन फरक छ।
एउटा उदाहरण दिउँ,
सरु बहिनीको गायनमा ‘घाँसीले तयार गरिसकेको कुवामा भानुभक्तले पानी खाए र गफ गरे’ भनिएको छ र घाँसीले आफ्नै बस्तुलाई घाँस दिन्छु भनेको छ। तर हामीले पढ्ने पढाउनेमा ‘घाँस बेचेर कुवा बनाउने’ इच्छा जनाएको थियो।
यस्तै फरक कुराहरू त्यहाँ अरू पनि छन्। लामो नहोस् भन्नका लागि मैले एउटा मात्रै उदाहरण राखें।
एउटा शिक्षकले आफ्नो मीठो नमिठो लयमा बन्द कोठामा पढाएको भानुभक्तको जीवनी विद्यार्थीले सम्झने कि युटुबमा बज्ने स्वरलाई सम्झने? पक्कै मिडियाको यो जमानामा युट्युब राम्रो साथी बन्छ। त्यसपछि युट्युब हेर्ने/ सुन्ने विद्यार्थी र हामीले भानुभक्तको जीवनी फरक रूपमा बुझ्नेछौं र अब आउने पुस्ताले तपाईं हामीले पढेको र पढाएको बिर्सन सक्ने छन्।
अब मान्यवर अग्रजहरूले कृपया भनिदिनु आदिकवि भानुभक्तको मर्न दिन नहुने वास्तविक जीवनी र इतिहास के हो?
भरतपुर-६ देवनगर, चितवन
























