पोखरा, असार २८ । साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता नजिक पुगेका छन्। साझा र विवेकशील एकताको अन्तिम तयारीमा रहेको साझा पार्टाका केन्द्रीय सदस्य महेश भण्डारीले जानकारी दिए।
गत स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनपछि यी दुई दलबीच एकता भएको थियो। तर पछि फेरि फुटेको थियो। फेरि एकताका लागि विवेकशीलले कार्यदल नै बनाइसकेको छ भने साझाले आजै कार्यदल बनाउन लागेको छ। साझा पार्टीको अहिले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। यो बैठकले एकताबारे निर्णय गर्नेछ।
पार्टी एकताप्रति साझाका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले फरक मत राखेका छन्। एकतामा गए आफूहरू पार्टीमा नरहने आचार्य र खनालले बताउँदै आएका छन्। दुबै जना आजको केन्द्रीय कमिटी बैठकमा सहभागी छैनन्। गत फागुनमा लुम्बिनीमा भएको साझा पार्टीको भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो।
आचार्य र खनालले भेलामै यो विषयमा फरक मत राखिरहेका थिए तर केन्द्रीय कमिटीले निर्णयलाई कार्यान्वयनमा लैजान लागेपछि उनीहरूले निश्चित समय पार्टीबाहिर रहेर रणनीतिक हिसाबले सहयोग गर्ने बताएका छन्।
‘हिजो शनिबार सचिवालयको बैठकले छुटेर गएका विवेकशील नेपालीसँग एकताका लागि औपचारिक प्रकृया अगाडि बढायो प्रदेश संयोजक भण्डारीले भने।


























