ज्यूरिच, आसार २६ । यूइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत आज क्वार्टरफाइनल र सेमिफाइनल चरणको लागि ड्र सार्वजनिक गरिएको छ।
नेपाली समयअनुसार शुक्रबार अपरान्ह जारी गरिएको ड्र अनुसार अन्तिम १६ को दोस्रो लेगमा रियल मेड्रिड र म्यानचेस्टर सिटीबीच हुने खेलको विजेताले क्वाटरफाइनलमा युभेन्ट्स वा लियोनबीचको विजेतासँग खेल्ने भएका छन्। त्यस्तै, अन्तिम १६ को अर्को खेलमा बार्सिलोना र नापोलीबीच हुने खेलको विजेताले चेल्सी र बार्यन म्युनिखबीच हुने खेलको विजेतासँग खेल्नेछ।
त्यसैगरी क्वाटरफाइनल आरबी लेइप्जिगले एट्लेटिको मेड्रिडको सामना गर्ने तय भएको छ। त्यस्तै, अर्को क्वाटरफाइनल एट्लान्टा र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच हुनेछ। अहिलेसम्म पीएजी, एट्लान्टा, एट्लेटिको मेड्रिड र लेइप्जिगले क्वाटरफाइनलमा स्थान बनाएका छन्। अरु खेलको अन्तिम १६ को दोस्रो लेग हुन बाँकी रहेको छ। जसमा पहिलो लेगमा चेल्सी बार्यनसँग ३-० ले पछाडी रहेको छ भने म्यानचेस्टर सिटीले रियललाई २-१ ले हराएको छ।
त्यस्तै लियोनसँग युभेन्ट्स १-० ले हारेको छ। बार्सिलोना र नापोलीले भने पहिलो लेगमा १-१ गोलको बराबरी खेलेका छन्। त्यसैगरी सेमिफाइनलमा पहिलो क्वाटरफाइनलको विजेताले तेस्रो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ भने दोस्रो खेलको विजेताले चौथो क्वाटरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


























