सिन्धुपाल्चोक, असार २५ । विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन्।
बाह्रबिसे पाँच जम्बुको याक्ला ठाडो खोलामा आएको बाढीले बगाउँदा जम्बुका २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको मृत्यु भएको छ।
निकेशकी श्रीमती भने भाग्दाभाग्दै बांचेकी थिइन्। बेपत्ता हुनेमा जम्बुका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जना छन्।
भोटेकोशीको नयाँपुल नजिकैको झ्याले भन्ने स्थानको ठाडो खोलामा आएको बाढीमा परेर एकै परिवारका ४ जना गरी जम्मा १८ जना अझै बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।
भोटेकोशी गाउँपालिकाका बेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ रहेको छन्।
यता जम्बुमा वेपत्ता हुनेहरुको भने सनाखत भइसकेको छैन्। उनीहरुको सेना, प्रहरी र स्थानीय मिलेर खोजी कार्य भइरहेको छ।
प्रजिअ ढकालका अनुसार दुई ठाउँमा भएको घटनामा दुई बालबालिकासहित पाँच जना घाइते भएका छन्। बाढीका कारण १३ घर पूर्ण रुपमा क्षति भएको छ।

घटनास्थल जाने बाटो पहिरोले अवरुद्ध भएकाले सुरक्षाकर्मी पनि ढिलो पुगेका थिए। स्थानीयका अनुसार बाढी आएको थाहा पाएपछि बजारबासीको रातारात भागाभाग भएको थियो।
मुख्यतः ठाडो खोलाले लेदो माटो र ढुंगा बगाएर ल्याएपछि बस्ती बगाएको थियो। राती करिव १२ बजे बाढी आएकाले सवै सुतेको अवस्थाका भाग्न कठिन भएको स्थानीयको भनाई छ।
राजमार्गको बाह्रबिसे तातोपानी खण्डको खागदलदेखि लिपिङसम्मको सडक जताततै बगाएको छ। जुरे पहिरो नजिक पनि करिब सय मिटर सडक बाढीले बगाएको छ।
यता बाह्रबिसेबाट सुनकोशी जाने बाटोमा सडकमा पनि पहिरो खसेको छ। यसैबीच घाइतेहरुको उद्धार गर्न सभामुख अग्नि सापकोटासहितको टोली धुलिखेल पुगेर फर्केको छ।
मौसममा आएको खराबीका कारण नेपाली सेनाको हेलिकप्टरमा गएका उनीहरु बीचबाटो बाटै फर्किएका हुन्।


























