असार २५ । बलिउडका वरिष्ठ अभिनेता तथा चर्चिच हाँश्यव्यंग्यकार जगदीपको निधन भएको छ। उनको बुधबार बेलुका मुम्बईस्थित घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
८१ वर्षका जगदीप क्यान्सरसँग लडिरहेका थिए। बुधबार बेलुका साढे आठ बजे निधन भएका उनको बिहीबार बिहान ११ बजेपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको बिबिसीले हिन्दीले लेखेको छ।
उनको निधनपछि बलिउड शोकमा छ। अभिनेता अनुपम खेरले ट्वीट गरेर अर्को एक तारा धर्तीबाट आकाश गएको उल्लेख गरेका छन्।
जगदीपले बलिउडका सुपरहिट चलचित्रहरुमा काम गरेका छन्। उनले शोले चलचित्रमा सूरमा भोपालीको भूमिका निर्वाह गरेका थिए। यस्तै अन्दाज अपना अपनामा उनले गरेको कामको पनि खुब चर्चा हुने गर्छ।
जगदीपले झण्डै ४०० चलचित्रमा काम गरेका छन्। उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो।
तर चलचित्र जगतमा उनी जगदीपका नामले चर्चित भए। उनको जन्म सन् १९३९ को मार्च २९ मा भएको हो। चर्चिच अभिनेता जावेद जाफरी र नावेद जाफरी उनका छोरा हुन्।


























