काठमाडौं, असार २४ । नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूतको सक्रियतालाई लिएर अनेकन टिप्पणीहरु भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनको भूमिकाको बचाउ गरेका छन्।
उनले सामाजिक सञ्जालमा चारबुँदे टिप्पणी गर्दै चीनले नेपालको संविधानलाई सम्मान गरेको तर भारतले स्वीकार नै नगरेको उल्लेख गरेका छन्। यद्यपि भट्टराईले आफ्नो टिप्पणीमा चीन र भारतको नाम भने उल्लेख गरेका छैनन्।
नेकपाको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि पार्टी विभाजनको संघारमा छ। यहि बेला चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्या भण्डारी, नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेकी छन्।
चिनियाँ राजदूतको यो सक्रियतालाई नेपालको आन्तरिक राजनीतिमा चीनको ‘माइक्रो म्यानेजमेन्ट’ सुरु भएको अर्थमा विश्लेषण भइरहेका बेला मन्त्री भट्टराईले चिनियाँ भूमिकाको बचाउ गरेका हुन्।
आफ्नो चारबुँदे टिप्पणीको पहिलो बुँदामा योगेशले लेखेका छन् ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भभाब राख्नु ठिक ?’
नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री भट्टराईले पहिलो र दोश्रो संविधानसभाको बेलामा तराईँ र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक भनेर पनि प्रश्न गरेका छन्।
यस्तै उनले नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक भनेर पनि प्रश्न गरेका छन्।
पार्टी –पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ? योगेशले निष्कर्ष दिँदै भनेका छन्, ‘ कुनै पनि विदेशी राजनीतिक तथा कुटनीतिक गतिवधिलाई यसै सन्दर्भबाट हेरियो भने सही हुन्छ।’
मन्त्री भट्टराईले अन्त्यमा भनेका छन्, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो। मान्ने नमान्ने अधिकार हाम्रो हो।’


























