काठमाडौँ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ। ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा क्षेत्रीलाई बढुवा गरिएको हो। हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत क्षेत्री बढुवा भएसँगै नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन्।
वरीयतामा पनि पहिलो नम्बरमा रहेका क्षेत्रीलाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा मंगलबार बालुवाटार पुगेका थिए। महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए। क्षेत्री र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए। क्षेत्री २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए।
नवनियुक्त आईजीपी क्षेत्री सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन्। वि.सं. २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ५२ वर्षीय क्षेत्री प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन्। सेवाको २८ वर्षसम्म उनले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा बिताएका छन्।
डीआईजीमा बढुवा भएपछि महानगरीय प्रहरी कार्यालय प्रमुखमा सरुवा भएका क्षेत्री त्यसपछि पुन महानिरीक्षकको सचिवालय र प्रहरी प्रवक्ता बनेका थिए। एआईजीमा बढुवापछि भने उनी मानवस्रोत तथा प्रशासन विभागमा सरुवा भए।
यस्तो छ क्षेत्रीको विगत :
नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री प्रहरीभित्र व्यवसायिक र इमान्दार अधिकृतका रुपमा चिनिन्छन्। २०२५ मंसिर २ गते भक्तपुरको कटुञ्जेमा जन्मिएका उनले २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। परिवारमा कान्छो छोराको रुपमा जन्मिएका उनको पारिवारिक पृष्ठभूमि नै प्रहरी भएका कारण उनको रोजाइ पनि स्वभाविक रुपमा प्रहरी मै पर्यो। बुवा शम्भु थापा नेपाल प्रहरीबाटै डीआईजीमा अवकाश प्राप्त अधिकृत हुन्। उनका श्रीमती र एक छोरी छन्। २०५८ फागुन १० गते डीएसपी, २०६७ पुस २० गते एसपी, २०७४ साउन १९ गते एसएसपी, २०७५ असोज २८ गते डीआईजी र २०७६ चैत ९ गते एआइजीमा बढुवा भएका क्षेत्री सेवाअवधिमा लामो समयसम्म उपत्यकाभित्रै कार्यरत रहे।
कतिपयले उनलाई ‘हाकिम रिझाएर काम गर्ने अधिकृत’का रुपमा पनि टिप्पणी गर्छन्। हुन पनि उनको यही स्वभावले सेवाअवधिको २८ वर्षमा ५ पटक प्रहरी महानिरीक्षककै सचिवालयमा रहेर काम गरे। जिल्ला प्रहरी कार्यालय कास्की, झापा, सल्यान र धादिङबाहेक उनले बाहिरी जिल्लामा बस्नु परेन।


























