काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। ओली र देउवाबीच बुधबार भएको भेटवार्ताकाबारे आशंका र संशय भइरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर बुढानिलकण्ठ पुगेपछि राजनीतिक रोचक मोडमा पुगेको छ। कांग्रेसको आजै केन्द्रीय समितिको बैठक डाकिएको छ।
प्रधानमन्त्री ओलीको आफ्नै नेताहरुले राजीनामा मागेपछि मुलुकको राजनीतिक फरक मोडमा पुगेको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक र अनौपचारिक भेटवार्ता र छलफललाई तीव्रता दिएका छन्।
आइतबा बिहान आफू निकट नेकपाका नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेम्वाङलाई आफ्नो सन्देशसहित देउवालाई भेट्न पठाएका बीबीसीले जनाएको छ। ओलीले पार्टी फुटाएर काग्रेससँगको गठबन्धनमा सरकार बनाउने हल्ला चलिरहेका बेला प्रधानमन्त्री ओलीले नेता नेम्वाङलाई देउवाकहाँ पठाएका बीबीसीले उल्लेख गरेको छ। तर नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले नजोडिएको बताएका छन्।
“देशमा यति गम्भीर विषयहरू उठिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीले कुरा गर्नुपर्छ कि पर्दैन? प्रधानमन्त्रीले अहिलेका यी सबै सन्दर्भमा हाम्रो तर्फबाट पनि हेलो भन्देउ है भन्नुभयो म गएर उहाँलाई भेटेँ हेलो भने आएँ’, नेम्वाङको भनाइलाई बीबीसीले उल्लेख गरेको छ।
यसबारे बीबीसीले नेम्वाङको थप भनाइ लेखेको छ “यस्तो किसिमको भेटघाटलाई पनि कसैले प्रश्न उठायो भने ती साथीले कसको हित चाहिरहेका छन् भन्ने कुरा भन्नुपर्ने हुन्छ। त्यस्तो प्रश्न उठाउने कोही हुनुहुन्छ भन्ने मलाई थाहा छैन। विश्वास छैन।“ प्रधानमन्त्री ओलीले देश र जनताका लागि मिलेर अघि बढ्न देउवालाई सन्देश पठाएको नेम्वाङको भनाइ छ।


























