काठमाडौं, असार २१ । बजारमा अण्डा र कुखुराको मासुको मूल्य बढेको छ। लकडाउनले गर्दा माग अनुसार कुखुरा उत्पादन हुन नसक्दा मूल्य बढ्न गएको हो। बजारमा मासु र अण्डा दुवैको माग उच्च भएपनि सो अनुसार आपूर्ति हुन नसकेकाले मूल्य बढ्न गएको व्यवसायीको भनाई छ।
व्यवसायीका अनुसार जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र अण्डाको क्रेटमा २५ रुपैयाँसम्म मूल्य बढेको छ। हाल बजारमा कुखुराको मासु प्रतिकेजी ३ सय ७५ रुपैयाँ पुगेको छ। जिउँदो कुखुरा प्रतिकेजी २ सय ६० पुगेको छ भने अण्डा क्रेटको ३ सय ६५ रुपैयाँ पर्न थालेको छ। बुद्धनगरका व्यापारी रमेश श्रेष्ठले उत्पादन कम भएकाले कुखुराको मासु र अण्डाको मूल्य बढ्न गएको बताए। लकडाउनका कारण उत्पादन कम हुँदा बजारमा अभाव भएर मूल्य बढ्न गएको उनको भनाई छ। माग अनुसार उत्पादन नहुँदा मूल्य बढ्न गएको उनको भनाई छ। कोरोना भाइरसको असरले गर्दा पछिल्लो समय कुखुराको उत्पादन बढ्न सकेको छैन।
गत सातासम्म मासु प्रतिकेजी ३ सय ६० र अण्डा क्रेटको ३ सय ५० रुपैयाँमा रहेको थियो। गत मंगलबारबाट लागू हुनेगरी मूल्य बढेको पोल्ट्री संघले जानकारी दिएको छ।
पोल्ट्री संघ र कुखुरा पालक किसानले बजारको मागलाई ध्यानमा राख्दै अहिले खोरमा चल्ला हाले पनि तयार भएर बजारमा आउन डेढ महिना लाग्ने व्यवसायीको भनाई छ।
चितवनमा उत्पादन हुने कुखुरा र अण्डा उपत्यका आइपुग्दा मूल्य बढेर आउने गरेको व्यवसायीको भनाई छ। डिलरलाई नै अण्डा प्रतिक्रेट ३ सय ६५ रुपैयाँ पर्न थालेपछि खुद्रा बिक्रीमा मूल्य बढ्नु स्वभाविक भएको व्यवसायी बताउँछन।
यसैबीच बजारमा खसीको मासु प्रतिकेजी एक हजार चार सयदेखि एक हजार चार सय १५ रुपैयाँ रहेको छ। लकडाउनका कारण बजारमा खसी ल्याउन नसक्दा मूल्य बढ्न गएको व्यवसायीको भनाई छ।


























