असार २१ । प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध सहज जित निकालेको छ। शनिबार राति चेल्सीले वाटफोर्डलाई ३–० ले हराएको हो।
चेल्सीको जितमा ओलिभर जिराउड, विलियन र रोस बार्कलीले गोल गरे।
जितसंगै चेल्सीले च्याम्पियन्स लिग छनोटको यात्रालाई सहज बनाएको छ। यद्धपी म्यान्चेष्टर युनाईटेडले शीर्ष चारको दौडमा लण्डन क्लबमाथि दबाब कायम राखेको छ।
बार्कलीको पासमा जिराउडले २८ औं मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफको अन्तिम समयमा क्रिस्टियन पुलिसिकलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पायो। जसमा विलियनले सहजै गोल गरे। दोस्रो हाफको ईन्जुरी समयमा डिबक्स भित्र प्राप्त बलमा बार्कलीले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए।
अबरुद्ध सिजन पुन सुरु भएपछि चेल्सीले चार मध्य तीन खेलमा जित निकालेको छ। चेल्सी ५७ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग दुई अंकको अग्रता लिएको छ।
पछिल्लो हारले वाटफोर्डमाथि रेलिगेशनको दबाब थपिएको छ। वाटफोर्ड २८ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ। एजेन्सी


























