गोरखा, असार २० । कोरोना भाइरस संक्रमणका कारण आज (शनिबार) गोरखामा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन्।
गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ वक्राङको सीमामा पर्ने लुदी दोभानमा शव व्यवस्थापन गर्ने सूचना पाएका स्थानीय भेला भएर विरोध गरेका हुन्।
जिल्ला सुरक्षा समितिको बैठकले लुदी र दरौंदीको संगमस्थलमा शव व्यवस्थापन पर्ने निर्णय गरेको थियो। लुदी दोभानमा शव व्यवस्थापन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द गुरुङले जानकारी दिएका छन्।
केही स्थानीय भेला भएर विरोध गरेपछि प्रहरी टोली परिचालन गरी सम्झाउने कोशिस भइरहेको छ। प्रहरी निरीक्षकको कमाण्डमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताएका छन्।
पालुङटार घर भएका व्यक्तिको शव लुदी दोभानमा गाड्न उपयुक्त नरहेको भन्दै स्थानीयवासीले विरोधमा उत्रिएका हुन्। यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने बस्ती नभएको ठाउँमा शव व्यवस्थापन गर्न लागिएकाले विरोध गर्नुपर्ने आवश्यकता नभएको बताएका छन्।
‘केही स्थानीय भेला भएका छन्, उनीहरुलाई सम्झाउँदै छौँ,’ उनले भने। गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका प्रमुखलाई पनि शव व्यवस्थापनको बारे छलफल गरिएको प्रजिअ पौडेलको भनाइ छ। कतारबाट फर्किएका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो।


























