गुल्मी, असार १९ । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले दुई वटा घर बगाउँदा मृत्यु हुनेको संख्या दुई जना पुगेको छ भने पाँच जना घाइते भएका छन्।
अविरल वर्षासँगै बिहीबार राति गएको पहिरोले २७ वर्षीया ईश्वरी खत्रीको घर बगाउँदा बेपत्ता भएकी उनकी ७ वर्षीया अपेक्षा खत्री मृत अवस्थामा फेला परेसँगै मृत्यु हुनेको संख्या दुई पुगेको हो।
पहिरोमा परी ईश्वरी खत्रीसहित उनकै परिवारका ६४ वर्षीय टिका खत्री र आयुष खत्री पनि घाइते भएको गुल्मीका डीएसपी केदारराज पन्तले जानकारी दिए।
पहिरोले सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको थियो। पहिरोमा परी बसन्तसहित २१ वर्षीया सिर्जना सारु घाइते भएका छन्।
Facebook Comments


























