काठमाडौं, असार १८ । सरकारले झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ।
नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिए।
भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख बस्नेतले बताए। पुनः श्रम स्वीकृति खुले पनि नयाँकोबारेमा भने जानकारी नभएको उनले बताए। पुनः श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ।
तर अहिले कार्यालयमा पुनः श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए। त्यही अनुसार कार्यालयले तयारी पनि गरेको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो। बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुल्ला गर्ने निर्णयसमेत गरेको छ।
पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ। कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन्।


























