असार १७ । लियोनल मेस्सीले खेल जीवनको ऐतिहासिक आँकडा पूरा गरेका छन्। उनले खेल जीवनको ७०० औँ गोल गरेर नयाँ खुड्किला पार गरेका हुन्।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मेस्सीले पेनाल्टी मार्फत गरेको गोल उनको व्यवसायिक खेल जीवनको ७०० औँ गोल बन्यो। उनले अर्जेन्टिना र बार्सिलोनाबाट ७०० गोल गरेका हुन्।
मेस्सीले बार्सिलोनाका लागि ७२४ खेलमा ६३० गोल गरेका छन्। बाँकी ७० गोल उनले अर्जेन्टिनाका लागि गरेका हुन्।
५० औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गरेर व्यक्तिगत रुपमा सात सयौँ गोलको आँकडा पूरा गरे पछि एथ्लेटिको मड्रिडसँगको खेलमा बार्सिलोना २–२ को बराबरीमा रोकियो।
एथ्लेटिकोका डिएगो कोस्टाले ११ औँ मिनेटमा आत्मघाती गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर एथ्लेटिकोका लागि १९ र ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा साउलले गोल गरी खेलमा बराबरी गरेका हुन्।
बराबरीपछि दोस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ७० तथा तेस्रो स्थानको एथ्लेटिकोको ५९ अंक भएको छ।
मेस्सीका लागि यो वर्ष अर्को कोशेढुंगा बनेर आयो खेल जीवनका लागि।
उनले बार्सिलोनाबाट ६०० गोलको आँकडा पूरा गरेको १४ महिनापछि खेल जीवनको सात सयौँ गोलको आँकडामा प्रवेश गरे।
मेस्सी विश्वमा सात सय गोलको आँकडा पूरा गर्ने सात मध्ये एक खेलाडी बनेका छन्।
यो सूचिमा चेक–अस्ट्रियन जोसेफ बिक्यान ८०५ गोलसहित शीर्ष स्थानमा छन्। यस्तै ब्राजिलका रोमारिओले ७७२ तथा पेलेले ७६७ गोल गरेका छन्।
यसैगरी हंगेरीका फेरेन्स पुस्कासले ७४६, जर्मनीका जेर्ड मुलरले ७३५ तथा छैटौँ स्थानमा रहेका क्रिष्टियानो रोनाल्डोले ७२६ गोल गरेका छन्। एजेन्सी


























