हेटौंडा । वागमती प्रदेशकोे विनियोजित बजेटमाथि छलफल सुरु भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले छलफल सुरु गर्न प्रस्ताव पेश गरेपछि छलफल सुरू भएको हो। विनियोजन विधेयकमाथि मंगलबार नेकपाका १२ जना सांसद र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित अन्य दलका ८ जना सांसदले बोल्ने भन्दै कार्यव्यवस्थामा छलफल भएको थियो। तर, बजेटको छलफलमा बोल्न भने ५ जनाको मात्रै नाम बोलाइएको थियो। त्यसमध्ये नेकपाकी सांसद मुनु सिग्देल अनुपस्थित भइन् भने अन्य ४ सांसदले बोल्ने मौका पाए।
सत्तापक्ष नै असन्तुष्ट
वागमती प्रदेशको विनियोजित बजेटमाथि सत्तापक्षकै सांसदहरुले असन्तुष्ट व्यक्त गरेका छन्। मंगलबार भएको छलफलमा नेकपाका सांसद हीरानाथ खतिवडाले सरकारले बजेट ल्याउँदा बजेट कार्यान्वयन हुने क्षेत्रको अवस्था विश्लेषण नगरी ल्याएको आरोप लगाए। बजेट नसच्याउने भए छलफलको अर्थ नरहने र सरकार नसुध्रिए समर्थन गर्न नसक्ने समेत चेतावनी दिए। नेकपाका सांसद सुरेश नेपालले भने बजेट प्रष्ट ढंगले आएको बताए। उनले विरोधको लागि विरोध गर्न नहुने भन्दै सर्वसम्मत ढंगले विधेयक पास गर्न सबै लाग्नु पर्ने तर्क गरे। नेकपाकी सांसद सीता लामाले प्रदेश सरकार श्रम र श्रमिकको सरकार हुनुपर्ने बताउँदै शहरको विकल्प गाउँ बनाउनु पर्ने बताइन्। नेकपाकै सांसद प्रदीपकुमार कटुवाल क्षेत्री केसीले भने सरकारको बचाउ गरेका थिए।
प्रतिपक्षको आरोपै आरोप
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदसहित अन्य विपक्षी दलका सांसदले विनियोजित बजेटमा आरोपै आरोप लगाएका छन्। कांग्रेसका सांसदहरुले मन्त्रीमुखी बजेट भएको भन्दै आलोचना गरेका हुन्। नेपाली कांग्रेसकी सांसद जीवन डंगोलले बजेट सत्तापक्षको लागि मात्रै आएको भन्दै असन्तुष्ट जनाएकी हुन्। कांग्रेसकै सांसद प्रभात तामाङले कार्यकर्तादेखि वडाध्यक्षसम्मलाई पैसा बाँड्न भ्याएको आरोप लगाउँदै ‘किताबको पानाको संख्या बढेको’ भनेर प्रगतिशीलको व्यङ्ग्य गरे। उनले मन्त्रीहरु वडाध्यक्षभन्दा सानो हैसियतमा देखिएको बताए। आफ्नो निर्वाचन क्षेत्रको वडा र टोलसम्म बजेट हालेर फेसबुक रंग्याउने काम भएको उनको आरोप छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाललाई व्यङ्ग्य गर्दै मिल्ने भए आफ्नो शालिक बनाउन मात्रै बाँकी भएको तर्क गरेका हुन्।
राप्रपाकी सांसद रीना गुरुङले पनि सरकारले कोरोनालाई बिर्सेर बजेट ल्याएको आरोप लगाइन्। उनले प्रदेश सरकारले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन तथा उपचारमा उपयुक्त बजेट विनियोजन नभएको बताइन्। यस्तै विवेकशील साझा पार्टी, नेमकिपाका सांसदहरुले पनि सरकारले ल्याएको बजेटको विरोध गरेका छन्।
संसदीय दलमा पनि विरोध
नेकपा वागमती प्रदेश संसदीय दलमा पनि विनियोजन विधेयकमाथि भएको छलफलमा बोल्दै सांसदहरुले विरोध जनाएका छन्। केही सांसदहरुले बजेट पूर्णरुपमा असमर्थन गर्नेसमेत बताएका थिए। सांसदहरुले योजना अपहरण भएको भन्दै मुख्यमन्त्रीसहित मन्त्रीहरुको विरोध गरेका हुन्। मुख्यमन्त्री र सीमित मन्त्रीको मात्रै योजना परेको र सांसदहरुको योजना मन्त्रालयको कार्यक्रम विवरण पुस्तिकामा नपरेको भन्दै संसदीय दलको बैठकमा आक्रोश पोखेको सहभागी एक सांसदले बताए।


























