काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताको विषयलाई नेपालले आत्मसात् गरिसकेको बताएका छन्।
नेकपाका पूर्वमहासचिव मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल अहिले संकीर्णता र साम्प्रदायिकताबाट मुक्त रहेको र राष्ट्रिय एकताको पक्षमा एकताबद्ध रहेको बताए ।
“कहिलेकाहीँ हाम्रो देशमा पनि बहकावहरु आएका छन्। जातीयताका, भाषिकताका,साम्प्रदायिकताका अथवा आस्था समूहका। एकता तोड्ने विग्रह पैदा गर्ने र देशको अहित गर्ने। आफ्नो संकीर्ण स्वार्थका लागि वा ,कसैबाट निर्देशित भएर यस्ता काम गर्ने। तर मदन भण्डारी कहिले पनि बहकिनु भएन,” उनले भने। भौगोलिक अखण्डता , स्वाधीनता र राष्ट्रिय हितको पक्षमा भण्डारीले कसरी सोच्थे भन्ने कुरा प्रस्ट भइसकेको पनि उनले बताए। तत्कालीन समयमा संवैधानिक राजतन्त्र भनेर आफूहरुले भने पनि रणनीतिक उद्देश्य गणतान्त्रिक लोकतन्त्र नै रहेको ओलीको भनाइ थियो।
भण्डारीको २००९ साल असार १४ गते ताप्लेजुङको ढुँगेसाँघुमा जन्म भएको थियो। ०५० जेठ ३ गते उनको चितवनको दासढुंगामा गाडी दुर्घटनामा निधन भएको थियो।


























