असार १३ । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेल हुँदैछ।
ला लिगा अन्तर्गत शनिबार उपाधि दाबेदार क्लब बार्सिलोनाले सेल्टा भिगोको सामना गर्नेछ।
बार्सिलोनाले सेल्टासँग उसैको मैदानमा खेल्नेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।
सेल्टाको मैदानमा बार्सिलोना सहज जितको खोजीमा हुनेछ। सहज प्रतिद्वन्द्वी सेल्टालाई हराएर बार्सिलोना उपाधि होड कायम राख्न चाहन्छ।
यस्तै बार्सिलोना घरेलु टोलीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लन चाहन्छ।
लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ६८ अंक जोडेको छ। र, सेल्टालाई पराजित गरेमा बार्सिलोनाले रियल मड्रिडलाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ।
सेल्टा ३३ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ। घरेलु मैदानमा बार्सिलोनालाई हराएर सेल्टा अंक तालिका सुधार गर्ने योजनामा हुनेछ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेससँग खेल्नेछ।
त्यस्तै ओसासुनाले लेगानेस तथा एथ्लेटिक बिल्बाओले मालोर्कासँग खेल्नेछ। एजेन्सी


























