चितवन । ‘मेची महाकाली बुहारी संयुक्त आवाज’ले हेटौंडाकी सुस्मिता थापाको हत्या भएको भन्दै दोषीलाई कारवाहीको मागसहित मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। शुक्रबार साँझ भरतपुरको चौबीसकोठीमा दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेको हो। संयुक्त आवाजको टोलीले केहीदिनअघि मकवानपुर पुगेर त्यहाँका प्रहरी प्रमुख सुशीलसिंह राठौरसँग पनि भेट गरेको थियो। देशमा बुहारीमाथि दुर्व्यवहार हुने क्रम नरोकिएको भन्दै दोषीलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन्।
असार २ गते हेटौंडा ४ मा सुष्मिता थापाको आफ्नै घरमा मृत अवस्थामा शव फेला परेको थियो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सुष्मिताका ससुरा प्रकाश र नन्द सीतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। महिला अधिकारकर्मीहरुले दाेषीलाई कडा कारवाही गर्न माग गर्दै सम्बन्धित निकायलाई दबाब दिइरहेका छन्। पीडितले न्याय र पीडकले सजाय नपाएसम्म आन्दालेनका कार्यक्रमलाई निरन्तरता दिने मेची महाकाली बुहारी संयुक्त आवाजकी उपाध्यक्ष उषा खरेल सुवेदीले जानकारी दिइन्।

























