चितवन । बोटलर्स तराई नेपाल लिमिटेडका मजदुरहरूले शुक्रबारदेखि पुनः आन्दोलन थालेका छन्। कम्पनीमा कार्यरत मजदुरहरुलाई कम्पनीले विभिन्न बहाना बनाएर हटाएको भन्दै पुनर्वहालीको मागसहित आन्दोलन गरेका हुन्। गएको डिसेम्बर महिना सकिएपछि रोजगार मुक्त बनाइएको भन्दै विगत ९÷१० वर्षदेखि कार्यरत मजदुरहरुलाई पुनर्वहाली गर्नुपर्ने उनीहरुको छ।
शुक्रबार पत्रकार सम्मेलन गरेर आन्दोलन सुरु भएको घोषणा गरेको अखिल नेपाल ट्रेड युनियन महासंघ घटक अखिल नेपाल मजदुर संघ बोटलर्स तराई नेपाल लिमिटेडले शनिबारदेखि थप शसक्त आन्दोलन गर्ने जनाएको छ। कम्पनीको वेयर हाउस विभागमा लोड–अनलोडको काम गर्दै आइरहेका ४४ जना मजदुरले शनिबार बिहान १० बजेदेखि २ बजेसम्म ढुवानीका सम्पूर्ण साधनको आवतजावनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।
असार १४ गते आइतबार भने बिहान १० देखि साँझ ६ बजेसम्म ढुवानीका सम्पूर्ण साधनको आवतजावत ठप्प पार्ने आन्दोलनरत संघर्ष समितिका अध्यक्ष बुद्धिमान सेन्चरीले जानकारी दिए। यति गर्दा पनि माग सम्बोधन नभए असार १५ गतेदेखि १५ दिनसम्म ढुवानीका सम्पूर्ण साधनमा आवतजावत बन्द गर्ने निर्णय भएको उनको भनाइ छ। संघर्ष समितिले यति गर्दा पनि माग सम्बोधन नभए मजदुरहरुको माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनीसमेत दिएको छ।
आफूहरुलाई रोजगारबाट निकालेको भन्दै गएको वर्ष चैत ६ गतेबाट शसक्त आन्दोलन थालेका मजदुरहरुले कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि जारी आन्दोलन स्थगित गरेको थियो। असार १ गतेदेखि केही सहज भएपछि स्थगित भएको आन्दोलनलाई पुनः सुचारु गरिएको समितिका सचिव प्रल्हाद बर्तौलाले जानकारी दिए। मजदुरहरुको शान्तिपूर्ण आन्दोलनलाई कम्पनीले बेवास्ता गरे परिस्थितिअनुसार आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने उनको भनाइ छ।


























