काठमाडौं, असार १२ । आजदेखि नेपालको कुल जनसंख्या ३ करोड नाघेको छ। केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हो। राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो।
विश्वमै जनसंख्या घडीको प्रचलन रहेको पाइन्छ। जन्म, मृत्युदर तथा बसाइँसराइँको स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय यिनै मापनका आधारमा तय गरिएको नेपालको जनसंख्या घडीले नेपालको जनसंख्या आजबाट तीन करोड नाघेको देखाएको हो।
विभाग स्रोतका अनुसार मध्यजनसंख्या सिद्धान्तको आधारमा हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गरिन्छ। नेपालमा पछिल्लो समय जन्मदर घट्दो क्रममा रहे पनि आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ।
नेपालमा पहिलोपटक विसं १९६८ सालमा जनगणना सुरू भएको थियो। त्यसयता प्रत्येक १० वर्षको अवधिमा राष्ट्रिय जनगणना हुँदै आएको छ। अर्को राष्ट्रिय जनगणना आउँदो साल २०७८ मा सम्पन्न गर्ने विभागको योजना रहेको छ। विभागले हरेक जनगणनाको बाह्रौं श्रृंखला २०७८ सालको जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने जनाएको छ।


























