काठमाडौं, असार १० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालोको सहमति छाडेर गल्ती गरेको बताएका छन्।
बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार सञ्चालनमा ‘आलोपालो’ गर्ने सहमति छाड्दा पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेका हुन्।
रुकुम घटना नेकपा स्थायी कमिटीको एजेन्डा
“मूलतः अध्यक्ष प्रचण्डको भनाइ केपी ओली हिजोको सहमतिबाट पछि हट्नुभयो । पार्टी एकताको भावना आत्मसात गर्नु भएन। भ्रष्टाचार व्याप्त भयो। पार्टी एकतापछि ओलीमा स्वेच्छाचारिता, अहङ्कार बढ्यो भन्ने कुरा राख्नुभयो,” बैठकपछि एक स्थायी कमिटी सदस्यले भने, “हिजो जुन सहमति गरियो त्यसआधारमा एकतामा पुगियो, त्यो आधारमा पार्टी सञ्चालन हुन सकेको छैन। हामीले पार्टी एकताका बेलामा गरेको सहमतिभन्दा फरक ढङ्गले अघि बढ्दा एकताको जग भत्कियो। हिजो एकताका बेला आलोपालो सहमति भएकै थियो। त्यसबाट पछि हटेर अर्का अध्यक्षले पाँच वर्ष सरकार सञ्चालन गर्ने, मैले आमरूपमा पार्टी सञ्चालन गर्ने सहमति भएको हो। तर, त्यसअनुसार पनि अघि बढ्न सकिएको छैन । एकताको बेलाको सहमतिबाट पछि हटेर गल्ती गरेँकी भन्ने महसुस भएको छ।”
यी कुराको समीक्षा गरेर पार्टी एकतालाई बचाउनुको विकल्प नरहेको प्रचण्डको निष्कर्ष थियो। उनले ओलीको चाहनाअनुसार आलोपालोको सहमति भत्काएर नयाँ सहमति गर्दा र निर्वाध सत्ता चलाउन दिँदा पनि परिणाम ननिस्कएको गुनासो गरेका थिए।
ओलीले सहमतिको पालना नगरेर एकताको भावना कुल्चिएको प्रचण्डको निष्कर्ष रहेको स्थायी कमिटी सदस्यको भनाइ छ।


























