काठमाडौं, असार १० । सांसदहरुले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनलाई शुन्य समय मानेर विशेष प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले लकडाउन सुरुदेखि अन्तिम सम्मको अवधिलाई शून्य समय मानेर सबै वर्गलाई राहत पुग्ने गरि प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद मिनबहादुर विश्वकर्माले लकडाउन अवधि भरको आर्थिक कारोवार र दायित्वबारे सर्वत्र विवाद देखिएका भन्दै सबै वर्गलाई राहत पुग्ने गरी प्याकेजको व्यवस्था गर्न आग्रह गरे।
उनले सो अवधिको घरभाडा, बैंकको व्याज, कर, विद्यालयको शुल्क लगायतमा छुट हुनु पर्ने, निजी विद्यालयका शिक्षकहरुलाई पनि सामुदायिक विद्यालयको शिक्षक सरह सरकारले तलब भुक्तानी गर्नुपर्ने, दैनिक वा मासिक ज्यालादारी गर्ने मजदुरलाई मासिक ७ हजार नगद राहत दिने व्यवस्था गर्नुपर्ने, होटल रेष्टुरेण्ट र क्याफेलाई सुलभ ब्याजमा पुनः सञ्चालन कर्जा दिनुपर्ने लगायतका माग पनि गरे।
यस्तै, बैठकमा सांसद भीमसेनदास प्रधानले कोरोनाको प्रभाव रहेसम्म आइतबार र शनिबार बिदा दिन व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।
बैठकमा सांसद भरतकुमार शाहले सरकारले नेपाली श्रमिकलाई विदेश पठाउँदा १० हजार र ल्याउँदा १ लाख २२ हजार तोकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।


























