काठमाडौं, असार ७ । साउदी, कतार र युएईबाट आइतबार ५ सय ४७ नेपाली स्वदेश फर्किएका छन्। साउदीबाट २ सय ४७, कतारबाट १ सय ४९ र युएईबाट १ सय ५१ नेपाली स्वदेश फर्किएका हुन्।
युएईको आबुधाबीबाट हिमालयन एयरलाईन्सको चार्टर उडानमार्फत् फर्किएका १ सय ५१ जनामा २ नाबालक, २६ जना महिला र १ सय २३ पुरुष रहेको दूतावासले जनाएको छ।
सो उडानमार्फत् १ सय ५४ जना फर्काउने उल्लेख गरिए पनि ३ जनामा कोरोना पोजिटिभ देखिए पनि उनीहरु त्यहीँ रोकिएका हुन्।
स्वदेश फर्कनेहरुमा रोजगारी गुमाएका, आफन्त गुमाएर काजकिरियामा आउनुपर्ने अवस्थाका, महिला, बिरामी, जेष्ठ नागरिक, पर्यटन भिसामा गएर अलपत्र परेका तथा अन्य विभिन्न कारणले समस्यामा परेका छन्।
आजै युएईबाट थप दुई वटा उडानमार्फत् समस्यामा परेका नेपालीहरु स्वदेश फर्कने दूतवाासले जनाएको छ। त्यस्तै मलेसिया, बंगलादेश र बहराइनबाट समेत अप्ठ्यारोमा परेकाहरु स्वदेश फर्कँदैछन्।


























