असार ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ।
शनिबार भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो। ब्राइटनको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।
तर, खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए।
त्यसपछि खेलको इन्जुरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २-१ को जित दिलाए।
त्यसअघि खेलको ४० औं मिनेटमा आर्सनलका पहिलो रोजाईका गोलकिपर बर्न्ड लिनो चोट बोक्दै मैदानबाट बाहिरिएका थिए।
यससँगै कोरोना भाईरसको कारण स्थगित लिग सुचारु पछि आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ। यस अघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।
यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ। आर्सनल नवौं स्थानमा रहेको छ।
आर्सनललाई हराउँदै ३२ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ। एजेन्सी


























