असार ६ । बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले ला लिगाको उपाधि क्लबले जित्ने बताएका छन्।
ला लिगा अन्तर्गत शुक्रबार राति लिग लिडर बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएको थियो।
तर, खेलपछि बोल्दै गोलकिपर स्टेगेनले बाँकी खेल जितेमा बार्सिलोनाले उपाधि जित्ने दाबि गरे।
‘हामी आफैमा निर्भर हुँदैनौं र प्रतिद्वन्द्वीले के गर्छ हेर्नेछौँ तर हामी सुधार गरिरहेका छौँ,’ स्टेगेनले भने, ‘हामीले हाम्रो उत्कृष्ट अनुहार देखाउने छौँ । म विश्वस्त छु कि हामीले बाँकी सबै खेल जितेर च्याम्पियन बन्ने छौँ।’
सेभियासँगको बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाउने मौका गुमाएको थियो।
बार्सिलोना रियल मड्रिड भन्दा ३ अंकले अघि रहेको छ। रियलले एक खेल कम खेलेको छ।
बार्सिलोनाको ६५ अंक रहेको छ। रियलको ६२ अंक रहेको छ।
यस्तै स्टेगेनले सेभियाविरुद्ध टिमले उत्कृष्ट खेलेको बताए। उनले सेभिया समेत उत्कृष्ट टिम भएको बताए।
बार्सिलोनाले आगामी मंगलबार एट्लेटिको बिल्बाओसंग प्रतिस्पर्धा गर्नेछ।
रियलले आईतबार रियल सोसिडाडको सामना गर्नेछ। एजेन्सी


























