असार ६ । ब्रुनो फर्नान्डेजको पेनाल्टी गोलसंगै म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा टोटेनहमसंग बराबरी खेलेको छ।
गएराति भएको खेलमा युनाईटेडले टोटेनहमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
खेलको अन्तिम समयमा फर्नान्डेजको पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई हारबाट जोगाएका थिए र महत्वपूर्ण अंक दिलाएका थिए।
डिसेम्बर २६ पछि पहिलो पटक पाउल पोग्बा मैदानमा देखिएका थिए। उनी करिब ६ महिना मैदानमा देखिएनन्। उनले खुट्टाको शल्यक्रिया गरेका थिए। उनी वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा राम्रो प्रभाव जमाएका थिए।
स्टेभेन वर्गविनले २७ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । स्टेभेनको कडा प्रहार युनाईटेडका गोलकिपर डेभिड डे हेयाले ठम्याउनै सकेनन्।
टोटेनहमको बन्द रंगशालामा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई बराबरीमा ल्याएका थिए।
युनाईटेडका गोलकिपर डेभिड डे हेयाले सन ह्युङ मिनको प्रहारलाई उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए। युनाईटेडका एन्थोनी मार्सियलले दोस्रो हाफमा गरेका प्रहारलाई टोटेनहमका गोलकिपर ह्युगो लोरिसले बचाउ गरेका थिए।
युनाईटेड ४६ अंक सहित लिगको पाँचौ स्थानमा रहेको छ। उसले आठौं स्थानको टोटेनहमसंग चार अंकको अग्रता बनाएको छ। पछिल्लो नतिजासंगै युनाईटेड च्याम्पियन्स लिगको छनोटको दौडमा कमजोर बनेको छ।
अर्को खेलमा साउथ ह्याम्टनले नर्विच सिटीलाई ३–० ले हरायो। पाहुना टोलीको जितमा ड्यानी ईङ्स, स्टुआर्ड आर्मस्ट्रङ, नाथन रेडमोन्डले विजयी गोल गरे।
तालिकाको पुछारमा रहेको नर्विच रेलिगेशनमा जाने सम्भावना बढेको छ। साउथ ह्याम्टन ३७ अंक जोड्दै तालिकाको १३ औं स्थानमा छ। एजेन्सी


























