काठमाडौं, असार ५ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा.खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताए।
उनले श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति शृङ्खलालाई सहज गरिने भन्दै आयातमा क्रमिक सुधार हुँदै गएको बताए।
“निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौँ उनले भने, आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ।”
मन्त्री डा खतिवडाले कोरोना सङ्कट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढङ्गले जान्छ भन्नेमा अर्थतन्त्रको विकासमा भर पर्ने उल्लेख गर्दै आगामी आर्थिक वर्षको राजश्वको शीर्षकगत बाँडफाँटअन्तर्गत राजश्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण अवगत गराए।
सरकारले आगामी आवका लागि १० खर्ब ११ अर्बको राजश्वको लक्ष्यसहित त्यसको २९ दशमलब नौ प्रतिशत मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको छ।


























