असार ५ । म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले पाउल पोग्बालाई मैदानमा नेतृत्व गरेको हेर्न चाहेको बताएका छन्।
कीर्तिमानी मुल्यमा युनाईटेडका आएका २७ बर्षिया मिडफिल्डर सेप्टेम्बरदेखि दुई खेलमा मात्र देखिएका छन्। उनी खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहेका छन्।
पोग्बोको भविष्यलाई लिएर विभिन्न आशंका सिर्जना भएको थियो। तर उनी युनाईटेडमै रहने सम्भावना प्रवल छ। कोरोनाका कारण उत्पन्न वित्तिय संकटका कारण खेलाडी सरुवा बजार प्रभावित हुने अनुमान गरिएको छ।
‘पोग्बा विश्वका एक उत्कृष्ट मिडफिल्डर हुन्।’ सोल्सायरले भनेका छन्।
‘उनी विश्वकप विजेता हुन्। र उनले मैदानमा नेतृत्व गरेको हेर्न चाहन्छु।’ उनले थपेका छन्।
पोग्बाले पछिल्लो पटक डिसेम्बर २६ मा खेलेका थिए। उनी ढाडको समस्याबाट मुक्त हुँदै मैदान देखिएका थिए। लगत्तै जनवरीमा पोग्बाको खुट्टाको सल्यक्रिया गरे।
प्रिमियर लिगका अबरुद्ध सिजन सूरु हुँदै गर्दा युनाईटेडले पहिलो खेलमा टोटेनहमसंग शुक्रबार खेल्दैछ। कोरोना महामारीका कारण तीन महिना अबरुद्ध सिजन पुन सुरु भएको हो।
अबरुद्ध सिजन सुरु हुदै गर्दा प्रशिक्षक सोल्सायरले मिडफिल्डर पोग्बाले खेलमा ठुलो प्रभाव छाडेको हेर्न चाहन्छन्।
‘उनी फिट देखिएका छन्। उनी उपलब्ध छन्। उनको मानसिकता र ध्यान हेरिरहेको छु। उनी फेरी खेल्नका लागि तयार छन्।’ सोल्यारले भने।
‘त्यो ४५ मिनेट होस वा ६० मिनेटनै होस। तर विस्तारै केही महिनामा उनले सबै भन्दा राम्रो तरिकाले काम गरेको हेर्न चाहन्छौ।’ सोल्सायरले थपे।
युनाईटेडले गत जनवरीमा अनुबन्धन गरिको ब्रुनो फर्नान्डेस र पोग्बाको जोडीलाई युनाईटेडमा खेलाउन चाहन्छ। स्कटल्याण्डका खेलाडी स्कट म्याक टोमिनेले यस सिजन युनाईटेडबाट राम्रो प्रभाव छाडेका छन्। फ्रेड र नामिन्जा माटिसले समेत प्रर्दशनमा सुधार गरेका छन्।
‘उनीहरु मध्य सबै युनाईटेडबाट नियमित रुपमा खेल्न सक्षम छन्। त्यसैले मलाई सहि खेलाडी छनोट गर्नका लागि राम्रो चुनौती दिईएको छ।’ सोल्सायरले भने।
प्रिमियर लिगको पछिल्लो खेलमा युनाईटेडले म्यान्चेष्टर सिटीलाई हराएको थियो। तीन अंक बटुल्दै युनाईटेड शीर्ष चारमा उक्लिएको थियो र लिगमा अपराजित यात्रालाई ११ खेलसम्म पुर्याएको थियो।
सोल्सायर सन् २०१८ को डिसेम्बरमा जोसे मौरिन्होलाई प्रतिस्थापन गर्दै युनाईटेडको प्रशिक्षकमा आएका थिए। एजेन्सी


























