काठमाडौं, जेष्ठ ३१ । नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।
शनिवार (आज) प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको हो।
नयाँ नक्सालाई संविधानमा रहेको निशान छापमा समेट्ने संविधान संशोधन विधेयक पारितका लागि भएको छलफलमा उपस्थित २ सय ५८ जनामध्ये पक्षमा २ सय ५८ र विपक्षमा शून्य मत खसेको छ। २ सय ५८ जनाले नै पक्षमा मतदान गरेकाले संविधान प्रतिनिधिसभाबाट दुई तीहाई भन्दा बढी मतले पारित भएको छ।
संसदमा प्रतिनिधित्व गर्ने नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन्। नयाँ नक्सा जारी भएसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सा अद्यावधिक भएकाले संविधान संशोधन गरिएको हो।
७ जेठको मन्त्रिपरिषदले पारित गरेको नेपालको नयाँ नक्सा ९ जेठमा सार्वजनिक गरिएको थियो। नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरिएको छ।


























