काठमाडौं, जेष्ठ ३१ । नेपालको संविधानको दोस्रो संशोधनका लागि अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ। बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।
यहीबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका छन्।
त्यसपछि सम्बोधनका लागि सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई ड्यासमा बोलाए। तर, यसरी बोलाउँदा उनले समय निर्धारण गरे– १० मिनेट।
यही कुरामा राजेन्द्र महतोले आपत्ति जनाए। उनले सभामुखलाई प्रश्न गरे– यसअघिका वक्तालाई कुनै समयसीमा नहुने, मलाई हुने किन हो ?
यसमा सभामुख सापकोटाले जवाफ दिए– परम्परा यस्तै हो माननीयज्यू !
उनले यति के भनेका थिए, राजेन्द्र महतो कड्किए, ‘ए, भेदभाव गर्ने पो परम्परा हो। अझै भेदभाव गरिरहने हो सभामुख महोदय ?’
महतोले त्यसपछि आजको बैठक निकै महत्ववपूर्ण भएको भन्दै यसलाई समयसीमामा नराख्न अनुरोध पनि गरेका छन्। उनले नेपाली जनताले आफ्नो भूमिका लागि एकता देखाउनु ठिक भएको बताएका छन्।


























