काठमाडौं, जेष्ठ २७ । नेपाली फिल्मकी अभिनेत्री निरिषा बस्नेतमा कोरोना संक्रमण देखिएको छ। बलिउड प्रवेशका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर संघर्षरत उनले छाति दुख्न थालेपछि कोरोनाको परिक्षण गराएकी थिइन्। पीसीआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो। उनले इन्स्टाग्राममार्फत् आफूमा कोरोना देखिएको र चिकित्सकको निगरानीमा रहेको बताएकी छन्।
उनले आफू चाँडै निको भएर घर फर्किने विश्वास व्यक्त गरेकी छन्। अभिनेत्री निरिषा अभिनीत पहिलो नेपाली फिल्म ‘जानी नजानी’ गत वर्ष प्रदर्शनमा आएको थियो। यो फिल्म गर्नका लागि उनी मुम्बईबाट नेपाल आएकी थिइन्। फिल्म बक्सअफिसमा असफल भए पनि दर्शक तथा समीक्षकले उनको अभिनय रुचाएका थिए। यो फिल्म प्रदर्शनलगत्तै उनी मुम्बई हानिएकी थिइन्।
निरिषाका पिता विश्व बस्नेत पनि कलाकार हुन्। पिताकै पदचाप पछ्याउँदै अभिनयमा होमिएकी उनले केही भारतीय सिरियलमा अभिनय पनि गरेकी छन्। ‘चन्द्र नन्दिनी’ नामक सिरियलमा उनले मुख्य भूमिका निभाएकी थिइन्। उनले आफूमा कोरोनाको संक्रमण देखिएको बताएपछि सामाजिक सञ्जालमा फिल्मकर्मी र शुभचिन्तकहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।


























