काठमाडौं, जेष्ठ २७ । अस्ट्रेलियाबाट ११ जना नेपाली नागरिक लिएर नेपाल एयरलाइन्स फर्किएको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार उक्त विमान मंगलबार राति १० बजे नेपालमा अवतरण हुने छ।
नेपालले विदेशमा रहेका आफ्ना नागरिक उद्धार गर्ने तयारी गरिरहेका बेला नेपाल एयरलाइन्सले सुटुक्क यात्रु बोकेर आउन थालेको छ। यसअघि नेपाल एयरलाइन्सको विमान सोमबार नेपालबाट करिब ३ सय यात्रु बोकेर अस्ट्रेलिया उडेको थियो। नेपाल एयरलाइन्सले केही दिन अघि जापानबाट पनि सात जना नेपाली बोकेर ल्याएको थियो।
त्यसअघि नेपाल एयरलाइन्स जापानी नागरिकसहित लिएर नेपालबाट नारिता पुगेको थियो। सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई प्राथमिकताअनुसार उद्धार गर्ने बताइरहेका बेला विभिन्न देशमा रहेका नेपाली दुतावासले अहिले तथ्यांक संकलन गरिरहेका छन्। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा एक हजार र अस्ट्रेलियामा करिब १४ सय जनाले नेपाल फर्कने भन्दै फर्म भरेका छन्।


























