जेष्ठ २७ । ब्राजिलले सन् २०२३ मा हुने महिला विश्वकप फुटबल आयोजनाको दौडबाट हटेको जनाएको छ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभावका कारण ब्राजिलले महिला विश्वकप आयोजनाको दाबीबाट नाम फिर्ता लिएको हो।
उसले कोरोनाका कारण फिफालाई आवश्यक पर्ने बित्तिय आश्वासन दिने स्थितीमा आफु नरहेको समेत बताएको छ।
ब्राजिल फुटबल महासंघले आफुले आयोजनाको दाबीबाट बाहिर निस्कदै कोलम्बियालाई समर्थन गर्ने बताएको हो।
महिला विश्वकपको दौडमा अब कोलम्बिया सहित जापान तथा अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन्। अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्ने दाबी पेश गरेका छन्।
दक्षिण अमेरिकी महादेशमा यसअघि कुनैपनि महिला विश्वकपको आयोजना भएको छैन। यस बिषयमा जुन २५ मा निर्णय हुने सम्भावना प्रवल रहेको छ।
ब्राजिली राष्ट्रपति जेर बोलसोनारोले वर्तमान अवस्थामा फिफालाई बित्तिय सुनिश्चितता गर्न नसक्ने बताएका थिए। सोही अनुसार ब्राजिलले आयोजनाको दाबीबाट आफु पछि हटेको जनाएको छ।
ब्राजिल कोरोनाबाट दक्षिण अमेरिकामा सबैभन्दा बढी प्रभावित मुलुक हो। ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ३७ हजार भन्दा बढी मानिसको मृत्यु भईसकेको छ। एजेन्सी


























