चितवन, जेष्ठ २७ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कुनै पनि देश कोभिड महामारीको जोखिमबाट ढुक्क हुने अवस्था नरहेको बताएको छ। संक्रमित संख्याले दिनहुँ नयाँ रेकर्ड राखिरहेका बेला कुनै पनि मुलुकले जोखिमबाट ढुक्क रहने अवस्था नरहेको डब्लुएचओको भनाइ छ।
संक्रमण लगभग नियन्त्रणमा लिइसकेको चीनमा पनि उत्तिकै जोखिम रहेको उसले जनाएको छ। चीनमा फेरि कसरी दोस्रो चरणको महामारी हुनबाट रोक्ने भन्ने तर्फ ध्यान दिनुपर्ने डब्लुएचओले जनाएको छ।
गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ३६ हजारमा संक्रमण पुष्टि भएको छ। यस मध्ये ७५ प्रतिशत संक्रमित दश देशका छन्। विशेषगरी अमेरिका र दक्षिण एसियाका देशहरुमा संक्रमण बढी देखिएका छन्।
यस्तो बेला हरेक देश र देशहरुले महामारी रोकथामका लागि क्षेत्रीय रुपमा प्रयास गर्नुुपर्ने सुझाव समेत दिइएको छ। मंगलबार सम्म विश्वभर महामारीबाट संक्रमित हुनेको संख्या ७१ लाख ९३ हजार पुगेको छ।
संक्रमित मध्ये ९० प्रतिशत बिरामी संक्रमणमुक्त भएका छन् भने १० प्रतिशत बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या चार लाख नाघेको छ भने संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ३५ लाख नाघेको छ। बाँकीको भने उपचार भइरहेको छ। उपचारत मध्ये २ प्रतिशत बिरामी गम्भीर छन्।


























