काठमाडौं, जेष्ठ २६ । सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले २१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित संक्रमणमुक्त हुनेको संख्या ४ सय ८८ पुगेको छ।
प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्। सोमबार डिस्चार्ज हुनेमा महिला १ जना र पुरुष २० जना रहेका छन्। बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना संक्रमणमुक्त भएर घर फर्किएको प्रवक्ता जागेश्वरले बताए।
आइतबार मात्रै २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १०२ जना डिस्चार्ज भएका थिए।हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ९ सय ७१ र आरडीटी विधिबाट एक लाख ५६ हजार ९ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ६६ र आरडीटी विधिबाट ११ हजार ९४२ जनाको नमुना गरी १६ हजार ७०८ नमूना परीक्षण भएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वरका अनुसार एक लाख ६६ हजार ६६८ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा ३ हजार २६० रहेका छन्।


























