चितवन, जेष्ठ २७ । नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ। उनको आज (मंगलबार) बिहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
भरतपुर अस्पताल अन्तगर्तको कोभिड १९ विशेष अस्पतालका प्रमुख डा. प्रमोद पौडेलका अनुसार अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो। पौडेलका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए।
शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो। जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन्।
भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए।
परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए। सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो।
तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।


























