काठमाडौं, १९ असोज। निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। असोज १२ गते साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो।
महरालाई प्रहरीले महराकै निजी कारमा राखेर लगेको छ। सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहे पनि महराले निजी गाडीमा जाने चाहना गरेपछि प्रहरीले ल्याएको गाडी छाडेर महरा आफैँले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा गएका हुन्। अब उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले जनाएको छ।
यसअघि आइतबार बिहान जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो। शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।
घटनाको नालीबेली यस्तो छः
पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए। आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको ती महिलाले दाबी गरेकी छन्। आफूले प्रतिवाद गर्दा कुटपिट गरेको समेत उनले भनेकी छन्। घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी थिइन्। उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो।
तर, घटना भने त्यसको भोलिपल्ट मात्रै बाहिर आयो। महरा र उनको सचिवालयले उक्त आरोप अस्वीकार गरे पनि महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेजलगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो।
घटना बाहिरिएपछि असोज १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो। लगतै महराले सभामुख पदबाट राजीनामा दिए। तर, सांसद पदबाट भने अझै पनि राजीनामा दिएका छैनन्।
उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन्। उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन्। बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन्।