काठमाडौं, जेष्ठ २६ । विनियोजान विधेयक अर्थात बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ सोमबार सम्बन्धी मन्त्रीहरुले दिँदै छन्।
प्रतिनिधिसभाको सोमबार बिहान ११ बजेपछि बस्ने बैठकमा सबै मन्त्रीहरु उपस्थित भएर आ–आफ्नो मन्त्रालय अन्तर्गत सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको छ।
मन्त्रीहरुले जवाफ दिएपछि सोमबार नै प्रतिनिधिसभाले विनियोजन विधेयक पारित गर्ने तयारी छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट संसदमा पेश गरेका थिए।
कोरोना भाइरसको महामारीको बेला परेकाले बजेटमाथिको मन्त्रालयगत छलफल छोटो अवधिमा सकेर पारित गर्न लागिएको हो।
प्रतिनिधिसभाले विनियोजन विधेयक पारित गरेपछि त्यसको सूचना राष्ट्रियसभालाई गराउने छ। त्यसको १५ दिनेभित्र राष्ट्रियसभाले छलफल गरी विनियोजन विधेयक पारित गरेर प्रतिनिधिसभालाई जानकारी गराउने छ।
प्रतिनिधिसभाले विनियोजन विधेयक पारित गरेपछि आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुनेछ।


























