जेष्ठ २५ । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख उपाधि नजिक पुगेको छ।
साविक विजेता समेत रहेको बायर्नले शनिबार बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै लिगाको उपाधि नजिक पुगेको हो।
लेवरकुसनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर बायर्नले जीत निकालेको हो। बायर्नको जीतमा किङ्सले कोम्यान, लियोन गोर्टेज्का, सेर्गी गनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे। लेवरकुसनका लुकास अलारियो र फ्लोरियन वीट्जले एक एक गोल गरे।
खेलको १० औं मिनेटमा लुकासको गोलबाट लेवरकुसनले अग्रता बनाएको थियो। तर, २७ औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए।
४२ औं मिनेटमा गोर्टेज्का र ४५ औं मिनेटमा सेर्गीले गोल गरेपछि बायर्न पहिलो हाफमा ३-१ गोल अन्तरले अघि रह्यो। खेलको ६६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्न ४-१ ले अघि रह्यो। त्यसपछि खेलको ८९ औं मिनेटमा फ्लोरियन थप एक गोल फर्काएपनि घरेलु टिम ४-२ ले पराजित भयो।
जीतसँगै बायर्नलाई अब उपाधि जीत्नका लागि २ जीतको आवश्यकता रहेको छ। बायर्नले ३० खेलमा ७० अंक जोडेको छ। दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा उसको अंक ७ अंकले बढी छ। एजेन्सी


























