रुकुम, जेष्ठ २३ । ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनामा संलग्नता भएको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख ठगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन छन्।
यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ। उनीहरूमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको थियो। त्यसमध्ये यस अघि १८ जनालाई पक्राउ गरिएको थियो। अझै दुई जना फरार रहेका छन्। उनीहरु सबै एकै गाउँ सोतीका रहेका छन्।
गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए। त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो। उनीहरुको शव भेरी नदीमा भेटिएको थियो।


























