जेष्ठ २४ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मास्कका सम्बन्धमा आफ्नो सुझाव परिवर्तन गरी सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन सबैसँग आग्रह गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिर्वाय रुपमा मास्क लगाउन डब्लुएचओले आफ्नो परिमार्जित सुझाव मार्फत सबैसँग अपिल गरेको हो।
नयाँ जानकारीहरु अनुसार मास्कले संक्रमण फैलाउन सक्ने वा कोरोना भाइरस रहेका ओसिला छिटाहरुबाट मास्कले जोगाउन सक्ने देखिएको डब्लुएचओले उल्लेख गरेको छ।
विश्वका केही देशहरुले यसअघि नै सार्वजनिक स्थानमा जाँदा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम नै लागु गरेका छन्।
डब्लुएचओले यसअघि स्वस्थ मानिसले मास्क लगाउनु पर्ने भनेको थिएन। स्वस्थ मानिसले मास्क लगाएमा संक्रमणबाट जोगिन्छ भन्ने पर्याप्त प्रमाण प्राप्त नभएको उसको भनाई थियो।
डब्लुएचओले संक्रमणको शंका लागेका, संक्रमण भएकाहरुको नजिक जाने, उनीहरुको स्याहार गर्ने, संक्रमण भएकाहरुले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने बताएको थियो।
यसो गर्दा संक्रमण फैलिन नपाउने उसको भनाई थियो। परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमित व्यक्तिको सम्पर्कमा आउन सकिने भएकाले संक्रमणबाट जोगिने उपायका रुपमा मास्क लगाउनु पर्ने बताएको हो।
डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले समाचार संस्था रोयटर्ससँग सर्वसाधारणलाई मेडिकल मास्क नभइ कपडाको मास्क लगाउन भनिएको बताएकी छन्।
डब्लुएचओले यसअघि नै जोखिममा रहेका र संक्रमितको स्याहार गरिरहेका व्यक्तिले मेडिकल मास्क लगाउनु पर्ने बताएको थियो।
विश्वभर कोरोना भाइरसबाट ६७ लाख २४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। त्यसमध्ये तीन लाख ९४ हजार भन्दा बढीको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ। एजेन्सी


























