रौतहट, जेष्ठ २२ । प्रहरीले रौतहटको मौलापुरदेखि जयनगर जाने मूल सडकखण्डको गोनाही चौकबाट बिहीबार २० किलो गाजासहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ पदमपोखरीका सागर लामा र अंकित लामा, मकवानपुरकै कैलाश गाउँपालिका–९ कुमलटारका विशाल लामा र हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङका नीरज लामा छन्। रौतहटको देवाहीगोनाहीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेदनीप्रसाद साहको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
गोनाही चौकमा चेकजाँचको क्रममा दुई मोटरसाइकलमा रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक साहले जानकारी दिए। बा ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको मोटरसाइललाई रोकेर चेकजाँच गर्दा चार वटा झोलामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त स्थानबाट लागूऔषध ओसारपसार हुने गरेको स्थानीयले गुनासो गरिरहेका थिए। स्थानीयकै सूचनाका आधारमा प्रहरीले केही दिनदेखि उक्त ठाउँमा निगरानी बढाएको प्रहरी निरीक्षक साहले जनाएका छन्।


























