चितवन, जेष्ठ २२ । छ महिनापछि भरतपुर अस्पतालको सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।
मेसिनमा समस्या आएपछि सिटी स्क्यान सेवा अवरुद्ध थियो। मर्मतपश्चात बुधबारदेखि १२८ स्लाइसको सिटी स्क्यान मेसिन पूर्णरूपमा सञ्चालनमा आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए।
गएको मङ्सिरदेखि बिग्रिएको मेसिन लामो समयसम्म नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महङ्गो शुल्कमा सिटी स्क्यान गराउन बाध्य भएका थिए। बीमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका थिए भने बीमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा सिफारिस हुने गरेका थिए। मेसिन बिग्रँदा बीमाका बिरामी बढी प्रभावित भएका थिए। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने, “न्यूरोको शल्यक्रियासमेत हुन सकेको थिएन, एक वर्षका लागि मर्मत गर्ने कम्पनीसँग सम्झौता गरिएको छ।”
भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम रु तीनदेखि नौ हजारसम्म तिर्नुपर्छ। अन्य निजीमा रु चारदेखि १३ हजारसम्म तिर्नुपर्छ। भरतपुर अस्पतालमा दैनिक औषत १२ देखि १५ जनाले सिटी गराउँदै आएका छन्। विसं २०७४ जेठमा रु छ करोड ४७ लाख रकम खर्चिएर खरिद गरेको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिना पनि नपुग्दै बिग्रिएको थियो। रासस


























