काठमाडौं, जेष्ठ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित स्वास्थ्य सामग्री ग्रहण कार्यक्रममा बौल्दै मन्त्री ढकालले सामान्य अवस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताए। उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्य अवस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नका लागि अब नयाँ नीतिमा जाने स्पष्ट पारे।
उनले मुलुकमा १५ हजारसम्म संक्रमित हुनसक्ने आंकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिँदै स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताए।
अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भाइरोमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशनले ३० थान भेन्टिलेटरसहित रु एक करोड ७० लाख मूल्य बराबरको सामान उपलब्ध गराएको छ।


























