सुर्खेत, जेष्ठ २० । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६२ पुगेको छ।
प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा मङ्गलबार थप २९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
सुर्खेतका ११, सल्यान र अछामका नौ नौ जनामा कोरोना पुष्टि भएको हो। सुर्खेतमा देखिएका ११ जना सबै वीरेन्द्रनगर नगरपालिकाका १ र ३ का हुन्। सल्यानका नौ जना दर्मा गाउँपालिका १ देखि ४ का हुन्। अछामका सबै मङ्गलसेन नगरपालिकाका हुन्।
कर्णालीमा प्रदेशमा अहिलेसम्म पाँच वटा जिल्लामा कोराना सङ्क्रमण देखिएको छ। कर्णालीमा अहिलेसम्म कोरोनाको कारण दैलेखका एक जना युवकको ज्यान गएको छ।

Facebook Comments


























